बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग...  विस्तृतमा

  • जनादेश अनलाइन

    ३ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ
शिक्षाको 'हब' बन्दै खजुरा

अब खजुराबाटै चल्नेछ लुम्बिनी प्राविधिक विश्वविद्यालय: ५ वर्षपछि पाइयो आफ्नै भवन

छिट्टै कक्षा सञ्चालनको तयारी
  • जनादेश अनलाइन
  • २०८२ चैत्र ३, मंगलवार २०:०० गते

खजुरा । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ। स्थापनाको निर्णय भएको झण्डै पाँच वर्षपछि विश्वविद्यालयले आफ्नो प्रशासनिक कामकाजका लागि स्थायी संरचना प्राप्त गरेको हो।

​मंगलबार खजुरामा आयोजित एक विशेष कार्यक्रमका बीच खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ। गाउँपालिका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकाललाई भवन र जग्गाको स्वामित्व सम्बन्धी आधिकारिक कागजात हस्तान्तरण गर्नुभयो।

शिक्षाको ‘हब’ बन्दै खजुरा

​भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विकले खजुरालाई शैक्षिक र स्वास्थ्यको केन्द्र (हब) का रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। “खजुरामा क्यान्सर अस्पताल र कृषि क्याम्पस जस्ता प्रतिष्ठित संस्थाहरूलाई स्थानीयले जसरी अपनत्व दिएका छन्, यो विश्वविद्यालयले पनि त्यस्तै माया र साथ पाउनेछ,” उहाँले भन्नुभयो। दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशको समृद्धिमा यो विश्वविद्यालय कोशेढुङ्गा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

छिट्टै कक्षा सञ्चालनको तयारी

​भवन बुझ्दै उपकुलपति प्रा. डा. विनोद ढकालले अब छिट्टै खजुराबाटै विश्वविद्यालयका प्रशासनिक र प्राज्ञिक गतिविधिहरू अगाडि बढ्ने जानकारी दिनुभयो। “हामी भवनको आवश्यक मर्मत सम्भार गरी लगत्तै केन्द्रीय कार्यालय सञ्चालन गर्नेछौँ,” उहाँले भन्नुभयो, “५० बिगाहा जग्गा प्राप्तिको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ, जग्गा प्राप्त हुनासाथ भौतिक पूर्वाधार निर्माणको कामले गति लिनेछ।”

​हाल यो विश्वविद्यालयले नेपालगन्जमा अस्थायी मुकाम बनाएर ४ वटा प्राविधिक, २ वटा सूचना प्रविधि र २ वटा इन्जिनियरिङका कक्षाहरू सञ्चालन गरिरहेको छ।

जग्गा प्राप्तिमा संघीय सरकारको ढिलाइ

​विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले जग्गा प्राप्तिको कानूनी अल्झनका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट बर्सेनि फ्रिज हुने गरेको गुनासो गर्नुभयो। सुरुमा ९४ बिगाहा जग्गाको प्रस्ताव गरिए पनि हाल ५० बिगाहामा झारिएको र सो फाइल संघीय मन्त्रिपरिषद्मा निर्णयको पर्खाइमा रहेको उहाँले बताउनुभयो।

​प्रदेश सरकारले २०७८ सालमा ‘विश्वविद्यालय ऐन’ जारी गरी यसलाई कानूनी रूपमा स्थापित गरेको थियो। खजुरामा भवन प्राप्त भएसँगै अब विश्वविद्यालयको स्थायी उपस्थितिको सुनिश्चितता भएको छ।