बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५... विस्तृतमा

१ हप्ता अघि






खजुरा, बाँके । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७८ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको असार १० गते सम्पन्न बैठकमा गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक मन्जु मल्ल ले बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखेको छ। बजेट समावेशी, न्यायपूर्ण र स्थानीय आवश्यकतामा आधारित रहेको उपाध्यक्ष मल्लले बताउनुभयो।
गाउँपालिकाले सामाजिक विकास क्षेत्रका लागि ६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये शिक्षा क्षेत्रमा ४ करोड १५ लाख, स्वास्थ्य क्षेत्रमा ८५ लाख, खानेपानी तथा सरसफाइमा २० लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि २५ लाख, युवा तथा खेलकुद क्षेत्रमा ३५ लाख र नागरिक आरोग्य कार्यक्रमका लागि २१ लाख रुपैयाँ छुट्याइएको छ।
आर्थिक विकासतर्फ १ करोड २४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ। कृषि तथा सिँचाइमा ४० लाख, पशुपन्छी विकासमा ४० लाख, पर्यटन विकासमा ६० लाख, लघुउद्यम प्रवर्द्धनमा १५ लाख तथा सहकारी क्षेत्रको विकासका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
पूर्वाधार विकासका लागि ७ करोड ३७ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ। बसपार्क निर्माण, सडक स्तरोन्नति, विद्युत विस्तार, वैकल्पिक ऊर्जा, मर्मत सम्भार तथा अधुरा योजनाहरू सम्पन्न गर्न बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी सुशासन तथा संस्थागत विकासतर्फ १ करोड ८ लाख ४७ हजार रुपैयाँ तथा कार्यालय सञ्चालन एवं व्यवस्थापनका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटका लागि संघीय सरकारबाट ६८ करोड ९८ लाख ८४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ६ करोड २७ लाख १५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ३ करोड २ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
उपाध्यक्ष मल्लले बजेट कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण खजुरावासीको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।