बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग...  विस्तृतमा

  • जनादेश अनलाइन

    ३ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

विपद् व्यवस्थापनबारे पाँच महत्वपूर्ण निर्णय गर्दै अन्तर पालिका बैठक खजुरामा सम्पन्न

  • जनादेश अनलाइन
  • २०८२ भाद्र १४, शनिबार ०७:५९ गते

खजुरा। खजुरा गाउँपालिकामा आयोजना गरिएको स्थानीय तह समन्वय बैठकले बाँकेको विपद् व्यवस्थापनबारे पाँचवटा महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । सबै पालिकाका प्रमुख तथा विपद् व्यवस्थापनको काममा खटिने निकायहरू सहभागी बैठकले विपद्को वित्तीय जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रमलाई सबै स्थानीय तहले कार्यान्वयनमा लैजाने लगायतका पाँच निर्णय गरेको हो।

बाँकेमा विपद् व्यवस्थापनमा सामूहिक रूपमा स्रोत परिचालन गर्न समन्वय गर्ने उद्देश्यले आयोजना हुँदै आएको स्थानीय तह समन्वय बैठकको तेस्रो अंक खजुरा गाउँपालिकामा आयोजना गरिएको छ । शुक्रबार सम्पन्न बैठकले पाँचवटा महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बाँकेका सबै पालिकाका प्रमुख तथा विपद् व्यवस्थापनको काममा खटिने निकायहरू सहभागी बैठकले विपद्को वित्तीय जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रमलाई सबै स्थानीय तहले कार्यान्वयनमा लैजाने सम्बन्धमा तयारी गर्ने निर्णय गरेको छ ।

यसका लागि कार्यविधि तयारी सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिकाले अन्य स्थानीय तहलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरिएको छ । यसैगरी सबै स्थानीय तहमा रहेका गोदामघरमा मौजुदा स्रोत साधन र राहत सामग्रीको व्यवस्थित अभिलेखीकरण तथा सूचना आदानप्रदान गर्ने निर्णय पनि गरिएको छ भने बहुतल्ले घरमा आगलागी हुँदा मानिसहरूलाई जोगाउन काम लाग्ने सेफ्टी एयर जम्पर खरिद गर्ने पनि निर्णय गरिएको छ ।

सेफ्टी एयर जम्परका लागि नेपालगन्ज उपमहानगरपालिकाले अग्रसरता लिने र सबै स्थानीय तहले स्रोत साझेदारी गर्ने निर्णय गरिएको छ ।

समन्वय बैठकले सबै स्थानीय तहका वडास्तरमा विपद् जोखिम न्यूनिकरणका लागि स्वयंसेवक गठन गर्ने निर्णय पनि गरिएको छ । बैठकले बाँकेमा भौतिक निर्माण सामग्रीको चेकजाँचका लागि सबै स्थानीय तहको संयुक्त लगानीमा सिभिल निर्माणको लागि पहल गर्ने निर्णय गरिएको छ । त्यसको लागि विद्यमान कानुन र मापदण्डबारे नेपालगन्ज उपमहानगरपालिकाले प्रतिवेदन तयार गरी आगामी कार्यक्रममा पेश गर्ने निर्णय गरिएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष डम्मर विकको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव, युनिसेफ, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र स्थानीय विपद् व्यवस्थापन समितिका फोकल पर्सनहरू सहभागी थिए । बैठकमा विपद् व्यवस्थापनमा स्थानीय तहहरूले गरेका अभ्यासहरू साझा गरेका थिए भने भोगेका चुनौतीहरूबारे छलफल समेत भएको थियो ।

बैठकको आयोजना वर्णानुक्रमअनुसारका स्थानीय तहले आयोजना गर्दै जाने व्यवस्था गरिएको छ । बैठकलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापन साझा विषय भएको र यसको व्यवस्थापनका लागि चाहिने सामग्रीहरू महंगो मूल्य पर्ने र कम प्रयोग हुने सम्भावना भएकोले सबै स्थानीय तहको साझेदारी खोज्ने उद्देश्यले समन्वय बैठकको परिकल्पना गरिएको बताए । उनले निरन्तर रूपमा हुने यस्तो छलफलले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले विपद्का लागि सबै स्थानीय तहहरू एकै ठाउँमा बसेर छलफल गर्ने असल अभ्यास महत्वपूर्ण रहेको बताए । उनले यसको महत्वलाई बुझेर खजुरा गाउँपालिकाले तेस्रो बैठकको आयोजना गरेको जानकारी दिए । उनले प्रकृतिले निम्त्याउने विपद्लाई समाधानको खोजीको असल उपायको रूपमा समन्वय बैठक रहेको पनि दाबी गरे । उनले बैठकमा भएको छलफलले स्थानीय तहले विपद् व्यवस्थापनका विषयमा गर्नुपर्ने कामबारे जानकारी र सिकाई भएको पनि बताए ।