नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको साङ्गठनिक संरचनामा महत्वपूर्ण हेरफेर गर्दै नयाँ... विस्तृतमा

२३ घण्टा अघि




नेपालगन्ज,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको साङ्गठनिक संरचनामा महत्वपूर्ण हेरफेर गर्दै नयाँ नेतृत्वको चयन गरेको छ। पार्टीको जिल्ला तहको कार्यसमितिलाई थप गतिशील र प्रभावकारी बनाउने उद्देश्यले नयाँ जिम्मेवारी तोकिएको हो।
पार्टीका उच्च तहका नेताहरूको निर्णय र परामर्शपछि जिल्लाको इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकको जिम्मेवारी तोकिएको छ। पार्टीको नयाँ सांगठनिक जिम्मेवारी अनुसार अकल बहादुर बम जिल्ला इन्चार्जमा नियुक्त हुनुभएको छ। उहाँले समग्र जिल्लाको साङ्गठनिक गतिविधि र नीतिगत समन्वयको नेतृत्व गर्नुहुनेछ।
त्यसैगरी, पार्टीको सह-इन्चार्जको जिम्मेवारीमा अन्जना थारु र भद्र प्रसाद देवकोटा रहनुभएको छ। दुई जना सह-इन्चार्जहरूको नियुक्तिले जिल्लाका विभिन्न क्षेत्र र तहमा पार्टीको प्रभाव विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला कार्यसमितिको दैनिक प्रशासनिक र परिचालनको कार्यभार सम्हाल्नका लागि संयोजकमा दिपक जी.एम. लाई जिम्मेवारी दिइएको छ। उहाँसँगै सह-संयोजकको रूपमा दल सिंह नाथ योगीले कार्यभार सम्हाल्नुहुनेछ।
पार्टीको साङ्गठनिक सुदृढीकरणमा जोड
नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरेसँगै पार्टीका तल्लो तहका कमिटीहरूलाई सक्रिय बनाउने, सदस्यता नवीकरणलाई तीव्रता दिने र जनताका जल्दाबल्दा समस्याहरूमा पार्टीको उपस्थिति बलियो बनाउने प्राथमिकता रहेको बताएका छन्।

पछिल्लो समय बाँके जिल्लामा राजनीतिक गतिविधि बढिरहेको सन्दर्भमा यो नयाँ नेतृत्वको चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यकर्ताहरूका अनुसार यो जिम्मेवारी बाँडफाँडले जिल्लामा पार्टीको गुटगत समस्या अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न थप ऊर्जा मिल्नेछ।
नवनियुक्त पदाधिकारीहरूले आगामी दिनमा जिल्लाका सबै स्थानीय तहहरूमा भ्रमण गर्दै सङ्गठन विस्तार र जनतासँगको सम्बन्ध सुधारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।